Section 11
पूरक वातावरणीय प्रभाव मूल्याङ्कन गर्नु पर्ने
(१) दफा ७ बमोजिम वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन स्वीकृत भएको कुनै आयोजनाको भौतिक पूर्वाधार, डिजाइन वा स्वरुपमा केही परिमार्जन गर्नु परेमा, संरचना स्थानान्तरण वा फेरबदल गर्नु परेमा, वनक्षेत्र थप गर्नु परेमा वा आयोजनाको क्षमता वृद्धि गर्नु परेमा त्यस्तो कार्य गर्दा वातावरणमा प्रतिकूल प्रभाव पर्ने वा नपर्ने, त्यस्तो प्रभावलाई कुनै उपायद्वारा निराकरण वा न्यूनीकरण गर्न सकिने वा नसकिने सम्बन्धमा यकिन गर्न प्रस्तावकले पूरक वातावरणीय प्रभाव सूल्याङ्कन गर्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिम पूरक वातावरणीय प्रभाव मूल्याङ्कन गर्नको लागि प्रस्तावकले आयोजनाको विभिन्न अवयवमा परिवर्तन गर्नु परेको कारण तथा त्यसबाट वातावरणमा पर्न सक्ने प्रतिकूल असरका बारेमा विश्लेषण गरी वातावरणीय परिसूचक बमोजिमको तुलनात्मक तालिका र अन्य आवश्यक पुष्ट्याइँ सहित सम्बन्धित निकाय समक्ष निवेदन दिनु पर्नेछ।

तर सम्बन्धित निकायले प्रस्तावकलाई पूरक वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदन पेश गर्न आदेश दिएकोमा प्रस्तावकले निवेदन दिनु पर्ने छैन।

(३) उपदफा (२) बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गर्दा व्यहोरा मनासिब देखिएमा सम्बन्धित निकायले तोकिए बमोजिम पूरक वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन अनुमति दिन सक्नेछ।

(४) पूरक वातावरणीय प्रभाव मूल्याङ्कन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।